काठमाडौं। जापानले निर्माण कार्य सम्बन्धी तथ्यांक हेरफेर गरेको खुलासा भएको छ। जापानको पूर्वाधार मन्त्रालयले कयौं वर्षसम्म निर्माण कार्यसम्बन्धी तथ्यांकहरु अनुचित तवरले हेरफेर गरेको खुलासा भएको हो।
जिजी प्रेसले लेखेको समाचार अनुसार निजी र सरकारी क्षेत्रका कम्पनीहरुबाट भएका घरेलु निर्माण कार्य परियोजनाको मासिक अर्डर सन् २०१३ यताका कयौं वर्षसम्म बढाइचढाई गरिएको छ। यो अर्डरलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को गणना गर्दा प्रयोग गरिन्छ।
मन्त्रालयले मासिक रुपमा करीब १२ हजार कम्पनीहरुमाझ सर्वेक्षण गरी निर्माण अर्डर निकाल्ने गरेको छ। निर्माण तथ्यांकमा भएको यस हेरफेरले तथ्यांक कानुनको उल्लंघन भएको हुन सक्ने अनुमान गरिएको छ।
तथ्यांकमा हेरफेर कसरी शुरु भयो र यसले अन्य तथ्यांकलाई प्रभाव पारेको छ कि छैन भनेर पूर्वाधार मन्त्रालयले अनुसन्धान गरिरहेको छ।