काठमाडौं। लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरापीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य रहेका छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिएको भएपनि पीडितले हालसम्म नयाँ घर पाएका छैनन्।
सो क्षेत्रमा ०७७ साउनमा पहिरोले २१ घर पुरेको थियो भने ५४ घर उच्च जोखिममा परेको थियो। संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो। पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाएको भएपनि डेढ वर्ष बितिसक्दा पनि घर निर्माण हुन सकेको छैन्। डेढ वर्षपछि बल्ल एक साता अगाडी घर बनाउने सम्झौता अघि बढेको पहिरो पिडितहरुको भनाइ रहेको छ। मर्स्याङ्दी गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बस्नेतले पहिरोपीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भइसकेको बताएका छन्। देशविदेशबाट संकलन भएको चन्दा रकमबाट जग्गा व्यवस्थापन गरिएको उनको भनाइ रहेको छ।
उनका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालू आर्थिक वर्षमा पुनर्निर्माण हुने योजना रहेको छ। यसैगरी मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरोपीडितसँग घर पुनर्निर्माणका १८ वटा घर सूचीकृतमा परेको जानकारी दिएका छन्। घर निर्माण गर्न लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउने भएका छन्। उक्त घर निर्माणमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुने जनाइएको छ। त्यस्तै पुनर्निर्माणका लागि अनुदान व्यवस्थासहितको कार्यविधि स्वीकृत भएर आएका हुनाले घर पुनर्निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएको छ।