धनुषा। जनकपुर–भिठ्ठामोड सडकखण्डको निर्माण कार्य शुरु भएको पाँच वर्षमा पनि पूरा हुन सकेको छैन। धनुषा–महोत्तरी जिल्लालाई भारतीय सीमासँग जोड्ने यो सडक तीन वर्षमा सक्नेगरी पाँच वर्षअघि निर्माण शुरु भएपनि हालसम्म पूरा हुन नसकेको हो।
समयमा निर्माण नसकिनुका साथै यो सडकखण्ड निर्माण सम्पन्न नहुँदै भत्किन समेत थालेको छ। जनकपुर–भिठ्ठामोड सडकखण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन काम लगायतका कारण सडक नै भत्किन थालेको स्थानीयबासीको आरोप छ। ६ लेन भनिएको सडकखण्डमा अधिकांश ठाउँ र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुल लगायतका काम अझै भइरहेको छ।
हुलाकी राजमार्ग परियोजनाको निगरानीमा निर्माण भइरहेको जनकपुर–भिठ्ठामोड सडकको ठाउँठाउँमा गहिरो खाडल, विभिन्न ठाउँमा सडक भत्किएकाले सवारी साधन आवागमनमा समस्या हुने गरेको छ।
तीन वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ २४ मा जनकपुर–भिठ्ठामोड सडकखण्डको ९३ करोड ४३ लाख रुपैयाँको लागतमा दुई खण्डमा निर्माण गर्ने सम्झौता भएको थियो। पहिलो खण्डमा जनकपुरधामस्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म प्रतिभा वाईपी जेभीलाई ४३ करोड ५४ लाख ७२ हजार ८७४ रुपैयाँ (भ्याट सहित) मा ठेक्का सम्झौता गरिएको थियो।
दोस्रो खण्डमा महोत्तरीको पिपरादेखि भिठ्ठामोडसम्म ९.५६ किलोमिटर सडक आशिष पप्पु रोशन जेभीलाई ४९ करोड ८९ लाख २० हजार ७०७ रुपैयाँ (भ्याट सहित) बजेट निकासा भई ठेक्का सम्झौता गरिएको थियो।सम्झौताअनुसार ३ वर्षमै सम्पन्न गर्नुपर्ने काम ५ वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।