खोटाङ। सगरमाथा राजमार्गअन्तर्गतको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा सात वर्षदेखि अस्थायी बेलिब्रिज सञ्चालनमा छ। दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा विगत ७ वर्षदेखि अस्थायी बेलिब्रिज सञ्चालनमा छ।
अस्थायी बेलिब्रिज जडान गर्दा यहाँ हालसम्म पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ। पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीबारदेखि सञ्चालनमा ल्याएको छ।
हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्नेगरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो।
एक सय किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ। फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका थिए।
फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएकाे छ।