काठमाडौं। ललितपुर महानगरमा आगामी शनिबारदेखि बाढीले नदी किनारामा थुपारेको फोहोर सफा गरिने भएको छ। महानगरले सोमबार नदी किनारामा थुपारेको फोहोर सरसफाइसम्बन्धी तयारी बैठक बसेर आगामी शनिबारदेखि सरसफाइ गर्ने निर्णय गरेको हो।
बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर शनिबारदेखि संकलन गर्ने र नदी किनारा सफा गर्ने बताए।
शनिबार बिहान ७ बजे हामी सबै तोकिएका फरकफरक ठाउँमा जम्मा भएर काम सुरु गर्ने बताइएको छ।
फोहर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुरलगायत विभिन्न संघसंस्था, सामाजिक सङ्घसंस्थाले आफ्ना प्रतिनिधिलाई परिचालन गर्ने भएका छन्।
महानगरले सफाइ अभियानमा सहभागी हुन नगरबासीलाई समेत आह्वान गरेको छ।