म्याग्दी। म्याग्दी जिल्लाको दुर्गम क्षेत्र रघुगङ्गा गाउँपालिका–८ को कुइने सडक सञ्जालसँग जोडिएको छ। रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने सडक निर्माण भएको हो।
सडक सञ्जालसँग जोडिएसँगै कुइनेका बासिन्दाको जीवनयापन सहज बनेको छ। यहाँका मानिसलाई जिल्ला सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न एक दिन लाग्ने गर्थ्यो। सडक बनेपछि एक दिन लाग्ने बाटो अब चार घण्टामा छोट्टिएको छ।
सडक निर्माण भएपछि आवतजावत, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी, कृषि उपज र जडीबुटी निकासी गर्न सहज भएको स्थानीयले बताए। अहिले कुइनेमा मोटरसाइकल, जीप र ट्र्याक्टर गुड्न थालेका छन्। बिरामीलाई अस्पताल पुर्याउन पनि सहज भएको छ।
ठाडाखानीबाट कुइने जोड्ने १२ किलोमिटर दूरीको सडक मार्ग सञ्चालनमा आएको हो। यस वर्ष उपभोक्ता समितिमार्फत एक हजार ५०० मिटर सडक निर्माण भएपछि कुइने सडक सञ्जालसँग जोडिएको छ।
कुइने जोड्ने सडक निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा ८० लाख विनियोजन गरेको थियो। गत आवमा गाउँपालिकाले रु ४५ लाख विनियोजन गरेको थियो।