म्याग्दी। स्थानीयले ठेकेदारको फोटो बिजुलीको पोलमा टाँसेपछि बेनी–दरबाङ सडक आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ।
सडक आयोजनाको काम ढिलासुस्ती भएको भन्दै स्थानीयले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि काम तीव्र गतिमा अघि बढेको हो।
समानान्तर–लामा जेभीले ठेक्का लिएको सडक निर्माणको काममा ढिलासुस्ती भएको थियो। काममा ढिलासुस्ती भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका आयोजनाका ठेकेदार जिपछिरिङ लामाको फोटो पोलमा टाँसेर स्थानीयले विरोध गरेका थिए। स्थानीयको विरोधपछि ठेकेदारले आगामी चैतभित्र कालोपत्रे गर्ने गरी कामलाई तीव्रता दिएको छ।
छिटफुट काम गर्दै अल्झाउने गरेको ठेकेदारले अहिले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरदेखि तातोपानी बजारसम्म कालोपत्रे गर्ने गरी काम गरिरहेको बताइएको छ।
१२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइ गर्ने गरी २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्यका साथ २०७४ असोज ४ गते ४५ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।