डोटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढी–बग्लेक सडक कालोपत्रको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
डोटी पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले भने, ‘अहिले कोरोनाको समस्या खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ।’
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले काममा ढिलो नगर्न मुख्यमन्त्री भट्टले आग्रह गरेका छन्।
सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरेको छ। अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको छ।
निर्माणको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले सडक कालोपत्रको जिम्मा लिएसँगै काम तीव्र गतिमा गरिरहेको दाबी गरेको छ।