दार्चुला। निर्माण कार्यमा लापरबाही गरेपछि दार्चुला–टिंकर सडकको ठेक्का तोडिएको छ। महाकाली नदी किनारै किनार निर्माणाधीन महाकाली करिडोरअन्तर्गत यस सडकमा अमर–सूर्य जेभी कम्पनीसँगको ठेक्का तोडिएको हो।
यस सडकखण्डको माल–घाटीबगर, कोठेधार र राप्लामा काम गर्ने अमर–सूर्य जेभीका ठेकेदारले ठेक्काको ६ पटक म्याद थप गर्दा समेत निर्माणमा अटेरी गरेपछि ठेक्का तोड्नु परेको महाकाली करिडोरको बह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक योजनाले जनाएको छ। आयोजनाका अनुसार २०७० असार २३ मा सम्झौता भएको दार्चुला–टिंकर सडकमा ९ वर्षमा तीन किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ।
यस कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको समेत आयोजनाले जनाएको छ।
काममा लापरबाही गर्ने अन्य निर्माण व्यवसायीको पनि सडक योजनाले ठेक्का तोड्न शुरु गरेको छ ।