काठमाडौं। कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा २३७ घरधुरीमा धारा जडान गरिएको छ। ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो।
एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन्।
रु दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ। हेल्भेटासको रु एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा आयोजनाहरु सम्पन्न भएका हुन्।
पहिले निर्माण गरिएका धारा र अहिले निर्माण गरिएका धारा गरेर नरहरिनाथ गाउँपालिका–९ लालुमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिकाले जनाएको छ। पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ।