काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोले पर्वतको कुश्मादेखि म्याग्दीको बेनीसम्मको सडकमा ठाउँ–ठाउँमा क्षति पुगेको छ। कतिपय स्थानमा पहिरोले सडक नै बगाएको छ भने सडक किनारमा ढुंगामाटो थुप्रिएका छन्।
कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँचमार्गसमेत क्षतिग्रस्त भएपछि पश्चिमी तथा मध्यपहाडी जिल्लासँगको आवागमन प्रभावित भएको छ। पुलको पहुँचमार्ग मर्मतका लागि अहिले काम भइरहेको र दशैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ।
इन्जिनियरहरूले नदी अतिक्रमण तथा अव्यवस्थित दोहनका कारण कटान बढेको हुनसक्ने बताएका छन्। पुल सञ्चालनमा नआउँदा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतको आपूर्तिमा समस्या हुन थालेको स्थानीयको गुनासो छ। हाल यात्रुहरू वैकल्पिक रूपमा झोलुंगे पुल प्रयोग गरेर आवतजावत गरिरहेका छन्।