काठमाडौं । रसुवा–नुवाकोट सीमासँगै बेत्रावतीस्थित फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने भएको छ। नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको पुल तयार भएपछि पासाङल्हामु मार्गमा अवरुद्ध सडक यातायात पुनः सञ्चालनमा आउनेछ।
गत भदौ १० गतेको बाढीले फलाखुखोलाका पुराना र नयाँ दुवै पक्की पुल बगाएपछि काठमाडौं–नुवाकोट हुँदै रसुवासम्मको सडक सम्पर्क प्रभावित भएको थियो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुर्याइसकिएको छ।
गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि सामग्री ढुवानी सहज भएको हो। बेलीब्रिज बनेपछि रसुवासँग काठमाडौंको सडक सम्पर्क सहज हुनुका साथै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवाको आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ।