काठमाडौं। मधेश प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ। सोमबार राति खानेपानी निर्देशनालयको गाडीले मन्त्री सिंह चढेको गाडीलाई ठक्कर दिँदा मन्त्रीसहित तीन जना घाइते भएका हुन्।
दुर्घटनामा मन्त्री सिंहको छाती र मेरुदण्डमा बढी चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुर्घटनामा मन्त्री, मन्त्री सिंहका चालक र खानेपानीको गाडीका चालक गरी ३ जना घाइते भएका हुन्। तीन जनाको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।
खानेपानी निर्देशनालयको मधेश प्र ०३–००१ झ ००९६ नम्बरको गाडी तीव्र गतिमा जनकपुरको रामाचन्द चोकबाट भाटभटेनी सुपर स्टोरतिर जाँदै थियो । चालकले गाडीको गति नियन्त्रण गर्न नसक्दा आफ्नो लेन ब्रेक गरेर विपरीत अर्को लेनमा गएर मन्त्री चढेको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।