काठमाडौं। ओखलढुङ्गाको हिलेपानीदेखि सल्लेरीसम्म सडक मर्मत सम्भार हुने भएको छ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले सो सडकको मर्मत सम्भार गर्ने भएको छ।
सो सडक मर्मत सम्भारको लागि मन्त्रालयबाट चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएको छ। सो सडक खण्ड अन्तर्गतको हिलेपानी–हर्कपुर सडक खण्ड (७ कि.मि.), हिलेपानी–ओखलढुङ्गा सडक खण्ड (१४.२० कि.मि.), ओखलढुङ्गा–मुडे–विसना सडक खण्ड (२०.७१ कि.मि.) र मुडे–बिसाने–सल्लेरी सडक खण्ड (३७ कि.मि.) गरी जम्मा ७८.९१ कि.मि. सडक मर्मत सम्भार गर्न लागिएको हो।
सो सडक खण्ड मर्मत सम्भारको लागि १४ करोड भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ। सो सडक अव्यवस्थित हुँदा सडक दुर्घटना बढ्नुका साथै यात्रा गर्न पनि कठिन हुँदै आएको छ। समयमा सडक मर्मत सम्भार नहुँदा त्यहाँका स्थानीयहरु हिउँदमा धुलो र वर्षामा हिलोको चपेटामा पर्ने गरेका छन्। सडकमा जथाभावी खाल्डाखुल्डी परेको हुनाले जोखिमपुर्ण यात्रा गर्नु सिवाए अर्को विकल्प छैन्। तर अब भने सो सडक खण्ड मर्मत सम्भार हुने भएको छ। सो सडक मर्मत सम्भारको लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले ठेक्का आह्वान गरेको छ। सडक मर्मत सम्भारपछि यात्रा गर्न सहज हुने स्थानीयको विश्वास रहेको छ।