डोटी। दिपायल सिलगढी नगरपालिकामा रहेको द्वारी खोलामा झोलुङ्गे पुल निर्माण गर्न शुरु गरिएको छ।दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्ने पुल निर्माण गर्न लागिएको हो।
खोलामाथि कम्तिमा पनि ७० मिटर उचाइमा उक्त पुल बन्न लागेको हो। कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ।
दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटि दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर उपप्रमुख शिवराज खड्काले बताए।
प्रदेश सरकार र दिपायल सिलगढी नगपालिकाको रु ८६ लाख ३८ हजार ७००को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गो पुलको लम्बाइ २०० मिटर छ। देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ।