काठमाडौं। सिन्धुलीको सुनकाशी गाउँपालिका रामटारमा दोस्रो चरणको गहते नांगेडाँडा खहरेगाउँ अमरे खानेपानी योजना निर्माण हुने भएको छ। सो आयोजना निर्माण गाउँ कार्यपालिकाको कार्यलयले गर्ने भएको छ।
खानेपानीको समस्या झेल्दै आएका सुनकोशीबासीको समस्यालाई समाधान गर्न सो योजना अघि बढाइएको हो। हालसम्म पनि खानेपानीको सुविधा नपुगेको उक्त क्षेत्रमा सबैको पहुँच पुग्ने गरी खानेपानी योजना निर्माण गर्न लागिएको हो। वर्षौदेखि पानीको अभाव झेल्दै आएका स्थानीयहरु विहान झिसमिसेमा नै पानी लिनको लागि घरभन्दा टाढा कुवामा जाने गरेका छन्। तर अव गाउँमा नै खानेपानी योजना निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन्। यो भन्दा अगाडी सो क्षेत्रमा पहिलो चरणको खानेपानी आयोजना निर्माण भइसकेको छ।
दोस्रो चरण अन्तर्गत निर्माण हुन लागेको गहते नांगेडाँडा खहरेगाउँ अमरे खानेपानी योजनाले खहरेगाउँका सबै घर लाभान्वित हुने भएका छन्। सो योजना निर्माण १ करोड ४ लाख ९ हजार लागतमा ओम बालाजी मल्टिप्रपोज कम्पनीले ठेक्का कबोल गरेको छ। हाल सो आयोजना ठेक्का सम्झौताको चरणमा रहेको छ। अब छिट्टै निर्माण कार्य सुरु गरी खहरेगाउँको प्रत्यक घरमा खानेपानीको पहँच पुर्याउने गाउँपालिकाको उद्देश्य रहेको छ।