एजेन्सी। म्यानमार भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ। शुक्रबार म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परेर १५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले जानकारी दिएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’। गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि उनले गरेका छन् ।
म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।