काठमाडौं। सुनसरीको दुहबी नगरपालिकामा स्टिल पुल निर्माण गरिने भएको छ। दुहबी नगरपालिका, वडा नं. १० साधेतोकीदेखि वडा नम्बर १२ गेलाबारी जोडने टेंगरा खोलामा सो पुल निर्माण गर्न लागिएको हो। पुल निर्माण कार्य नगर कार्यपालिकाको कार्यालय दुहबी सुनसरीले गर्ने भएको छ।
टेंगरा खोलामा पुल नहुँदा साधेतोकी र गेलाबारीका स्थानीयलाई आवत जावतमा समस्या हुँदै आएको छ। खोलामा पुल नहुँदा खाद्यान्न सामाग्री ढुवानी गर्न, कार्यलय जान समस्या हुने गरेको छ। सबै भन्दा बढी वर्षातको समयमा समस्या हुने गरेको छ। वर्षातको समयमा खोलामा बाढी आएर खोला पार गर्न नै नसक्ने हुँदा ज्यान जोखिमा राखेर यात्रा गर्नुको अर्का विकल्प नै छैन्। तर अब सो समस्यालाई अन्त्य गर्नका लागि नगरपालिकाले पुल निर्माणको योजना अघि बढाएको छ।
नगरपालिकाले सो खोलामा पुल निर्माण गर्नको लागि ठेक्का आह्वान समेत गरिसकेको जनाएको छ। पुल निर्माणको अनुमानित लागत २५ लाख ९८ हजार रहेको छ। सो स्थानमा पुल निर्माण भएपछि यात्रा गर्न सहज हुनेछ। साथै यातायातको साधन प्रयोग गर्न पनि टाढा हिडेर जानुपर्ने बाध्यता हट्ने छ। यसले समयको पनि बचत हुने छ। उक्त खोलामा स्टिल पुल निर्माण हुने कुराले त्यहाँका स्थानीयहरु हर्षित भएका छन्। पुल निर्माणले जिल्लाको पूर्वाधार विकासलाई पनि टेवा पुर्याउने देखिएको छ।