काठमाडौं । वीरगञ्ज महानगरपालिकामा सीसी क्यामरा जडानका लागि बैंकहरुले सहयोग गरेका छन् । वीरगञ्ज महानगरको ‘सुरक्षित वीरगंज’ अभियानलाई थप सशक्त बनाउन नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सहयोग रकम सीसी क्यामेरा जडान गरी सार्वजनिक सुरक्षा सुदृढ गर्न प्रयोग गरिने बताइएको छ । बैंकहरुमध्ये सबैभन्दा ठूलो सहयोग नबिल बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक एवं लक्ष्मी बैंक वीरगञ्ज शाखाका प्रमुख रोहिणी आचार्यले गरेका थिए ।
महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा बैंकहरू ‘सुरक्षित वीरगंज’ अभियानमा एकजुट भएका हुन् । सिंहले सुरक्षा प्रविधिको माध्यमबाट वीरगंजलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहितको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको बताए ।