काठमाडौं। जापानको उत्तरी र पश्चिमी क्षेत्रमा ठूलो हिमपात हुँदा त्यहाँको एयरलाइन्सले १ सयभन्दा बढी उडानमा रोक लगाएको छ। भारी हिमपातका कारण आइतबारका लागि तय भएका १ सयभन्दा बढी आन्तरिक उडानमा रोक लगाएको हो।
जापान एयरलाइन्स र एएनए होल्डिङ्सले आइतबारका लागि तय भएका १ सयभन्दा बढी आन्तरिक उडान रद्ध गरेका हुन्। करिब ७९ वटा उडान रद्ध हुँदा आफ्ना करिब ५१ सय यात्रु मर्कामा परेको भन्दै एएनए होल्डिङ्सले माफी मागेको छ।
आइतबार बिहानदेखि जापान सागरको कोस्ट क्षेत्रमा भारी हिमपात भएको जापान टाइम्सले जनाएको छ। भारी हिमपातपछि अन्य यातायात सेवासमेत प्रभावित भएको छ। हिमपात मंगलबारसम्म जारी रहने भन्दै स्थानीयलाई सर्तक रहन त्यहाँको मौसम विभागले सुचित गराएको छ।