कैलाली। कैलालीको अत्तरियादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक स्तारोन्नतिको कामले गति लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको अत्तरिया–गड्डाचौकी खण्डको स्तरोन्नतिले गति लिएको हो।
यस खण्डलाई बढी जनघनत्व र जोखिमपूर्ण क्षेत्र मानेर राजमार्ग स्तरोन्नतिको काम गरिरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
अत्तरियादेखि गड्डाचौकीसम्मको ४० किलोमिटर खण्डमा सडक दाँयाबाँया ११ मिटर फराकिलो हुने गरी काम भइरहेको छ। गत वर्षदेखि नै ठेक्का लगाएर सडक विस्तार, कल्भर्ट निर्माण, कालोपत्रेलगायतका काम भइरहेको थियो। भीमदत्त नगरपलिका–५ वनखेतदेखि वेदकोट नगरपालिका–१० को दैजीसम्म भने राजमार्गमा माटोको सब बेस हालेर दुवैतर्फ सडक विस्तार गरिएको छ।
गत आर्थिक वर्ष ०७७/०७८ मा ठेक्का पाएको एमएस थोदुङ जसलिङ जेभीले कल्भर्ट निर्माण गरिरहेको छ। त्यस्तै महेन्द्रनगरको ट्राफिक चोकदेखि भाँसीसम्म खाल्डाखुल्डी मर्मत र दायाँबायाँ सडक विस्तार गर्न १ करोड ३ लाख रुपैयाँमा सलान निर्माण सेवाले ठेक्का पाएको छ।
चालू आर्थिक वर्षमा अत्तरियादेखि वेदकोट नगरपालिका–७ काङ्ला पुलसम्म सडक विस्तार, एक लेयर कालोपत्रेसहित मर्मतका लागि नौ करोड ६१ लाखमा कुमार जोशी जेभीले ठेक्का पाएको छ।
अत्तरियादेखि गड्डाचौकीसम्म कल्भर्टसहित फिलिङको काम गर्न मैनाचुली मालिका एमबिए जेभीले तीन करोड ६२ लाखमा ठेक्का पाएको छ।