काठमाडौं। ओखलढुङ्गाको केतुकेमा घलेगाउँ केतुके खानेपानी योजना निर्माण हुने भएको छ। मानेभञ्ज्याङ्ग गाउँपालिकाको कार्यलयले सो खानेपानी योजना निर्माण गर्न लागेको हो।
उक्त खानेपानी योजना लिफ्टिङ प्रणालीबाट निर्माण गर्न लागिएको हो। लामो समयदेखि खानेपानीको समस्याले पिरोलिएको केतुकेवासीको घर घरमा पानीको धारा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले सो कार्य अगाडी बढाएको हो। एक घर एक धारा अन्तर्गत उक्त खानेपानी योजना निर्माण गर्न लागिएको छ।
उक्त खानेपानी योजना निर्माण भएपछि मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रत्यक घर लाभान्वित हुने गाउँपालिकाको कार्यलयले जनाएको छ। उक्त योजना निर्माणको लागि गाउँपालिकाले ठेक्का प्रस्ताव पनि पेश गरिसकेको छ। घलेगाउँ केतुके खानेपानी योजना निर्माणको अनुमानित लागत करिब १ करोड १६ लाख रहेको छ। हालसम्म स्थानीयवासीहरुले खोलावाट र कुवाँवाट पानी ल्याएर आफ्नो दैनिकी चलाउँदै आएका छन्। गाउँमा नै खानेपानी योजना निर्माण हुनेभएपछि स्थानीयहरु हर्षित भएका छन्।