काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताएका छन्। मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताएका हुन्।
‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु’, उनले भने। मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको बताए।
उनका अनुसार सरकारले मेलम्चीको पानी एकपटक काठमाडौंमा ल्याइसकेको थियो। तर गत बर्खामा आएको बाढीपछि मेलम्चीको पानी ल्याउन सकिएको छैन।
उनले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामति ऐनमा रहेको कर्मचारीको पेशागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने जानकारी दिए।