रुकुम पश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिकामा तीन वर्षको अवधिमा नौ वटा खानेपानी आयोजना निर्माण भएको छ । घर, एक खानेपानी धाराअन्तर्गत गाउँपालिकाले २०७६ देखि हालसम्ममा नौ वटा आयोजना निर्माण गरी ६ सय ८० घरमा खानेपानीको सुविधा पुर्याएको हो ।
गाउँपालिकाका अनुसार १० नम्बर वडामा दोमिल्ला, ७ नम्बरमा राजकोट लिफ्ट, ६ नम्बर वडाको बाँठाकोट, १ नम्बरको बल्लेजुरा र २ नम्बरको मुलापानी खानेपानी आयोजना सम्पन्न भएका हुन् ।
त्यस्तै वडा नं ३ को तल्लो र माथिल्लो पँधेरा, ८ नम्बरमा कालाखोला, भेरीपोखरा र १० नम्बरमा सिम्तारेखोला खानेपानी योजना पनि सम्पन्न भएका छन् । योजना सम्पन्न गर्न ८ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।
जसमा गाउँपालिकाले २ करोड ४१ लाख, रेडक्रसको ३ करोड २ लाख, आशा परियोजनाको ५७ लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३० लाख रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी उपभोक्ताले २ करोड ७ लाख रुपैयाँ जुटाएका थिए । खानेपानी आयोजना निर्माण भएसँगै लामो समयदेखि पिठ्युँमा पानी बोकेर खानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ।