काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीस्थित सतिममा एक घर एक धारा अन्तर्गत सतिम खानेपानी योजना निर्माण गरिने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो योजना निर्माण गर्न लागेको हो।
पिउने पानीको अभावमा रातीदेखि खानेपानीको कुवाँमा लाइन बस्नुपर्ने बाध्यता रहेको रोल्पाको सतिममा एक घर, एक धारा सञ्चालन गर्ने योजना अघि सारिएको छ। गाउँपालिकाले घरघरमा धारा पुर्याउन खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको हो। करिब १ करोड २२ लाख लागतमा निर्माण हुने यस आयोजनाले सत्मुलका सबै घर लाभान्वित हुने भएका छन्। उक्त आयोजना निर्माण भएपछि हरेक घरमा पानीको धारा जडान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।
गाउँपालिकाको कार्यलयले उक्त खानेपानी आयोजना निर्माणको लागि ठेक्का आह्वान समेत गरिसकेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि खानेपानी निर्माणको आयोजना निर्माणलाई अघि बढाउने गाउँपालिकाको योजना रहेको छ। हाल स्थानीयहरुले खोला र कुवाँबाट पानी ल्याएर जिविका चलाउँदै आएका छन्। गाउँमा नै खानेपानी आयोजना निर्माण हुने कुराले स्थानीयवासी खुसी भएका छन्।