काठमाडौं। पाँच दशक देखि बगिरहेको खोलाको पानी पिउँदै आएका चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने धारापानी गाउँका बासिन्दाले घरदैलोमै खानेपानी पाउने भएका छन्।
आव २०७८/७९ को रु चार लाख ९० हजार बजेट परिचालन गरी वडा कार्यालयले खानेपानी निर्माणको कार्य अगाडि बढाएको छ। बतासे झर्नामा खानेपानीको इन्टेक ट्याङ्की निर्माण गरी धारापानी गाउँसम्म खानेपानी पुर्याउन पाइपलाइन बिछ्याउने कार्य सुरु गरिएको छ।
खानेपानीका लागि कुल लागतको २० प्रतिशत स्थानीयवासीले श्रमदान गर्नुपर्नेछ। त्यसका लागि स्थानीयबासी श्रमदानमा जुटिसकेका छन्। बस्तीमा बस्दै आएका १८ परिवारको घरघरमै खानेपानीको धारा जडान गर्ने वडा कार्यालयले योजना बनाएको छ।
खानेपानीको सुविधा नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएका स्थानियवासी घरमै खानेपानीको धारा जडानका लागि कामअगाडि बढाइएपछि निकै खुसी भएका छन्। उक्त स्थानका बासिन्दालाई वर्षातको समयमा खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता थियो।
खानेपानीका धारा घरमै पुर्याउने कार्य सुरु भएपछि विगतको पानीको समस्या हटेर जाने विश्वास गरिएको स्थानीयले बताए। धारापानीका स्थानीय बासिन्दासँगै पर्यटकीय क्षेत्र बतासे झर्ना जाने आन्तरिक तथा बाह्य पर्यटका लागिसमेत पदमार्गमा खानेपानीका धारा राख्नसमेत पहल भइरहेको छ।