चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा निर्माण पक्षले म्याद थप्न माग गरेको छ। विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको हो।
कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको छ।
निर्माण पक्षले सडक विस्तारको म्याद थप गर्न माग गर्दै कन्सल्टेन्सलाई कागजपत्र समेत बुझाएको बताइएको छ। निर्माण पक्षले म्याद थप गर्न माग गरेका कारण चित्त बुझ्दो भएको अवस्थामा कन्सल्टेन्टले नारायणगढ–बुटवल सडक योजनालाई सिफारिस गर्ने छ।
कन्सल्टेन्टले म्याद थपको सबै फाइल तयार पारेर योजनालाई पठाउने र त्यसपछि मात्रै योजनाले म्याद थपको प्रक्रियाका लागि मन्त्रालयमा फाइल पठाउने छ।
नेपाल सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सडक विस्तारको काम सुरु भएको थियो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने गरी सम्झौता भएको थियो भने विसं २०७५ पुस ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए।