काठमाडौं। तनहुँ र नवलपुर जिल्लामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ। ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिएको हो।
नेपाल सरकारले नागरिकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उक्त कार्यालयले जनाएको छ। तनहुँको खानेपानी आयोजनाको लागि रु २७ करोड १६ लाख र नवलपुरको लागि रु २६ करोड १५ लाख रहेको खानेपानी तथा डिभिजन कार्यालय तनहुँले बताएको छ।
उक्त आयोजनामध्ये १८ वटा नयाँ आयोजनाको सर्भे कार्य भइरहेको छ। अधिकांश आयोजना साना र ठूला रहेकाले कुनै एक वर्षदेखि पाँच वर्ष अवधिसम्म सम्पन्न गर्ने किसिमका छन्। तनहुँमा प्रादेशिक खानेपानी आयोजना ८६, सङ्घीय सरकारबाट सशर्त अनुदानबाट आएका २३, प्रादेशिक आधारभूत १६, अन्य १८ र विशेष अनुदानका आठ छन्। सङ्घीय सरकारबाट रु चार करोड ३३ लाख विनियोजित भएको छ भने अन्य सबै गण्डकी प्रदेशको बजेट रहेको छ।