सुर्खेत। जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ। जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो।
उक्त सुरुङ्गमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी) ले सूचना जारी गरिसकेको छ। सुरुङ्गमार्गको सम्भाव्यता अध्यायनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्यायन सकिएपछि सुरुङ्गमार्ग निर्माण अघि बढ्ने तातोपानी गाउँपालिकाले जनाएको छ।
सो सुरुङ्गमार्ग जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकैअघि बढाइने बताइएको छ।
जुम्लादेखि जाजरकोट जान हिडेर करिब १० घण्टा उकालो हिड्नु पर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिने स्थानीयको भनाइ रहेको छ। उक्त सुरुङ्गमार्गको निर्माण भएपछी लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदैँ रारा जोड्ने छोटो सर्किट हुनेछ।