काठमाडौं। डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडागाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ। उक्त बस्तीलाई जिल्लाभरिमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो।
७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीका धारा जडान गरिएपछि सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो।
यहाँका सबै घरमा केही महिना अगाडि ‘एक घर एक धारा’ निर्माण भएपश्चात पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेका सरोकारवाला निकाय, स्थानीय तहको अनुगमनपश्चात औपचारिक कार्यक्रम आयोजना गरी उक्त बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो।
विगतका वर्षहरूमा यहाँका स्थानीयवासी शुद्ध खानेपानीका लागि स्थानीय द्धाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य थिए। युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’ कार्यक्रमको थालनी गरेर घरआँगनमै पानी पु¥याएपछि पछिल्लो समय सफा, स्वच्छता पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासीले बताए।