काठमाडौं। झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन्।
पुल नबन्दा राजगढबाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले वर्षौदेखि सास्ती खेप्दै आएका छन्। त्यहाँका स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर तर्न बाध्य छन् । खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रतिसाइकल २० र प्रतिमोटरसाइकल १ सय रुपियाँसम्म ठेकेदारले रकम असुल्दै आएका छन्।
बिरिङ खोलामा चार वर्षमा निर्माण सक्ने भनी निर्माण थालिएको उक्त पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन। १५ करोड ५० लाख लागतमा निर्माण हुने भनिएको ३ सय १९ मिटर लामो पुल २०७२ जेठ मसान्तमा निर्माण सक्ने गरी लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा ठेक्का लिएको थियो। हाल सो पुल निर्माण अलपत्र अवस्थामा छ। वर्षौं बितिसक्दा पनि पुल निर्माणको काम नभएपछि स्थानीय आक्रोसित बनेका छन्। सो पुल निर्माणको लागि पटक पटक म्याद थपिएको भएता पनि निर्माण हुन सकेको छैन्।
सो पुल नजिक हुलाकी सडकको काम धमाधम हुन थालेको छ। तर पुल निर्माण नहुँदा स्थानीयले वर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलको जोखिम यात्रा गर्दासमेत पैसा तिर्नुपर्ने बाध्यता हट्न सकेको छैन। लामो समयपछि गत वर्ष उक्त पुलको एउटा स्पानमा ढलाई भएको छ। हाल सो पुल निर्माण कार्य कछुवा गतिमा भइरहेको छ। यसैगरी वर्षौपछि चलेको काम अब दुई वर्षमा सम्पन्न गर्ने काममा खटिएका कर्मचारीले बताएका भए पनि विश्वास गरिहाल्ने अवस्था नरहेको स्थानीयले जनाएका छन्।
झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने ढेड दर्जन हाराहारीका पुलमध्ये धेरैजसो निर्माण थालेर अलपत्र अवस्थामा छाडिएका छन्। मुख्य नदी र खोलामा झण्डै एक दशक अघिदेखि निर्माण थालिएको कनकाई र बिरिङको पुल समयमा निर्माण नहुने हो भने हुलाकी सडक सञ्चालनमा आउन नसक्ने स्थानीयको भनाइ रहेको छ।