मुुस्ताङ । उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गरेका हुन्।
लोमान्थाङ गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो ।
सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा ब्यापार व्यवसाय गर्ने, कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने ब्यापारी लाभान्वित हुने बताए ।
कोरलानाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरलानाकामा त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका स्थानीय ब्यापारी, कोरलानाका अवलोकनमा गएका पर्यटक तथा कोरलानाकाबाट आयाता÷निर्यात गर्ने ब्यापारी तथा चालकलाई निकै ठुलो समस्या पर्दैआइरहेको थियो । स्थानीय ब्यापारी, पर्यटक र कोरलानाकाबाट आयात÷निर्यात गर्ने ब्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यसप्रकारको अग्रसरता देखाएको हो ।
खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको छ।
कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए ।