धरान। त्रिदेशीय जोड्ने राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको रानी–विराटनगर–इटहरी–तरहरा–धरानसम्मको छ लेन सडक तीव्र रुपमा निर्माण कार्य अघि बढेको छ। कोरोना महामारीका कारण ढिलासुस्ती भएको सडक निर्माणको कामले अहिले तिब्रता पाएको हो।
रानी विराटनगर इटहरी धरान सडक योजना कार्यालय इटहरीका अनुसार रानीदेखि धरानको तीनकुनेसम्मको सडक विस्तारको काम ७५ प्रतिशत सकिएको छ। इटहरीदेखि धरानको तीनकुनेसम्मको सडक विस्तारको कामले समय अगावै सम्पन्न हुने गरि तिब्रता पाएको हो।
रानी–विराटनगर–इटहरी धरान सडक योजना कार्यलयका अनुसार इटहरीदेखि धरानको तिनकुनेसम्म चार ओटा प्याकेजमा काम भइरहेको छ। छुट्टाछुट्टै गरी चारवटा निर्माण कम्पनीले काम गरी रहेको छ।
इटहरीदेखि आँपगाछीसम्म कान्छाराम कन्ट्रक्सनले काम गरिरहेको छ। आँपगाछीसम्मको काम लगभग ७५ प्रतिशत सकिएको छ। त्यसैगरि आँपगाछीदेखि पानीपिया सम्मको सडक विस्तार सम्पन्न भइ आयोजनालाई हस्तान्तरण समेत भइसकेको छ।
यता पानीपियादेखि चारकोशे जंगलको सेउतीपुलसम्मको सडक विस्तारको ठेक्का पाएको इन्धुङ प्यासिफिक जेभिले सम्झौता समय अगावै सम्पन्न गर्ने गरि काम अघि बढाएको छ।पानीपियादेखि सेउतीपुल सम्मको ५ दशमलव १ किलोमिटर सडक निर्माणका लागि भ्याटसहित ३९ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको हो।
चौथो प्याकेजको रुपमा रहेको सेउतीपुलदेखि धरानको तीनकुनेसम्म ४ दशमलव २ किलोमिटर सडकको पनि करीब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ। यसको पनि २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरि रौता कन्ट्रक्सनले भ्याटसहित ३० करोड ६० लाख रुपैयाँमा ठेक्का लिएको थियो।