दैलेख। कर्णाली राजमार्ग अन्तर्गतको दैलेख खण्डका अधिकांश सडक सुधार हुन सकेको छैन। राजमार्ग सञ्चालनको करिब डेढ दशक बितिसक्दा पनि दैलेखका अधिकांश सडक सुधान हुन नसकेको हो।
अधिकांश क्षेत्रमा हालसम्म पनि ग्राभेल नभएका कारण धुलाम्य हुँदा यात्रु बिरामी हुने गरी यात्रा गर्न बाध्य छन्। एकातिर भौगोलिक विकटताले निम्त्याएको जोखिम र अर्कोतिर स्तरवृद्धिमा भइरहेको ढिलासुस्तीले कर्णाली राजमार्गको यात्रा सास्तीपूर्ण हुने गरेको छ। दैलेखको केही ठाउँमा सडक कालोपत्रे भएपनि धेरै सडक धुलाम्य छन्।
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख खण्डसहितको १३२ किलोमिटर हेर्ने जिम्मा छ भने बाँकी १ किमी जुम्ला सडक डिभिजनको जिम्मा छ।
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख खण्डको ७३ किमी सडकको स्तरवृद्धि ठेकेदारका कारण ढिलाइ भएको जनाएको छ।
यद्दपी कर्णाली राजमार्गका वर्षौदेखि अलपत्र पक्की पुलहरु भने निर्माण सम्पन्न भएका छन्।