काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा फलामे पदमार्ग निर्माण गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘एडभेन्चर भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो।
सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङका अनुसार जुगल हिमश्रृंखलाका फरक उचाइका चुचुरा चढ्न ४ हजार ६ सय २० मिटर उचाइमा रहेको बेसियर बेसक्याम्प ङ्याङखर्क पुग्नुअघिको भिरपहरोमा ‘भिया फिराता’ बनाइएको सिन्धु पर्यटन परिषद्का महासचिवले जानकारी दिएका हुन्।
३ करोड लगानीमा खानी सेवा प्राइभेट लिमिटेड कम्पनीले फलामे पदमार्ग निर्माणको जिम्मा लिएको छ। हाल जुगल हिमश्रृंखलाको काख नेपेमासालबाट बुम्बाशेर्बुसम्म करिब ३ हजार सिडी र माउन्टेन हट, पदमार्गजस्ता अन्य भौतिक संरचना निर्माण भइरहेको छ। यसैगरी ८० मिटर लामो रहेको यो पदमार्ग समुन्द्री सतहबाट ४१ सय मिटर उचाइमा रहेको छ। यो पदमार्ग निर्माण भएपछि जुगलका हिमचुचुरो आरोहण गर्न सहज हुने जनाइएको छ।
यसअघि पर्यटन प्रवद्र्धनको उद्देश्यले जुगल हिमश्रृंखलाको ११ वटा मध्येको एक चुचुरो ६ हजार एक सय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भएको छ।
दुई पटक आरोहण भएको हिमक्षेत्रमा पर्यटकीय आर्कषणको लागि ‘भिया फराता’ कोसेढुंगा हुने सिन्धु पर्यटन परिषद्का महासचिवको विश्वास रहेको छ। उक्त फ लामे पदमार्ग मुलुकमै पहिलो पटक बनाइएको हो, यस पदमार्गमा हजार फलामे सिंढी रहेका छन्। यसले सिन्धुपाल्चोकको पर्यटन विकासमा सहयोग पुर्याउने छ।