काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा लगभग एक सय मिटर दूरीको सडक बनाउन दुई वर्ष लागेको छ। धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बनाएको हो।
पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो। रु एक करोड ४९ लाख लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौँको बिएन कन्सट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । विसं २०७७ असार मसान्तसम्म म्याद भएको उक्त आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादको बहानामा सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा सुरु गरिएको थियो। पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुईवटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताए।
आर्थिक वर्ष ०७७/७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुछ्र्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असार मै सकिएको थियो, ०७६/७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसैपालि गरिएको हो।
निर्माण कम्पनी बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाइ भएको बताउँदै आएका छन्।
महतलाको अप्ठ्यारो भिरलाई छाडेर सडक डिभिजन कार्यालयले खोरिया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ। धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न विकल्पमा छलफल र पहल भइरहेको बताए।