रुकुम पश्चिम। लामो समयदेखि अलपत्र रहेको गाराघाट मोटरेबल पुल निर्माणको काम सुरु गरिएका छ। मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्ने गरी सानीभेरी नदीमाथि बन्नुपर्ने मोटरेबल पुल लामो समयदेखि अलपत्र अवस्था रहेको थियो।
उक्त पुल निर्माणका लागि नागार्जुन कन्ट्रक्सन कम्पनीले १० करोड ८६ लाख रुपैयाँमा २०७३ को असारमा पुल निर्माणको ठेक्का लिएको थियो। सो कम्पनीले २०७५ सालभित्र पुल निर्माण गर्ने गरी सम्झौता गरेको भएतापनी निर्माणको म्याद सकिएको ३ वर्षपछि मात्र पुल निर्माणको काम सुरु गरेको थियो।
दुवै तर्फका एकरएक पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो। अहिले बीच भागको पिलर निर्माणका लागि जमिन खन्ने काम भइरहेको छ। अहिले डिजाइन परिवर्तन गरेर निर्माणको काम भइरहेको छ। ८० मिटर लामो यो पुल अब ‘ओपन’ फाउण्डेशनमा बन्ने छ। यसअघि उक्त पुल ‘पायल’ फाउण्डेशनमा निर्माण गर्ने सम्झौता सडक डिभिजन कार्यालयसँग सम्झौता भएको थियो।
पहिले पुल बन्ने आशा गरेका स्थानीय निरास भएका थिए। अब पुल बन्ने हुँदा उत्साहित भएको उनिहरु बताउछन्। कम्पनीले असारसम्म एकतर्फको स्ल्याप हाल्ने गरी काम गरेको बताएको छ।