सुनसरी। धरान उप–महानगरपालिकामा फोहोरबाट बायोग्यास उत्पादन गर्न शुरु गरिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, उप–महानगर र भेञ्चर वेष्ट टु इनर्जी बीचको सहकार्यमा बायोग्यास उत्पादन शुरु गरिएको हो।
धरानमा निर्माण भएको फोहोरबाट चल्ने देशकै ठूलो बयोग्यास प्लान्टबाट दैनिक १२५० किलो ग्यास उत्पादन हुन्छ। यस प्लान्टको प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेका हुन्। उद्घाटन सँगै प्लान्टबाट ग्यास उत्पादन शुरु गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले उप–महानगरको फोहरबाट ऊर्जा उत्पादन गर्ने कार्य फोहर व्यवस्थापनको प्रभावकारी माध्यम बनेको बताए। बायोग्यास प्लान्टबाट फोहर व्यवस्थापनको समस्या समाधानमा सघाउ पुग्ने भएकोले यस्ता परियोजना देशका अन्य सहरमा पनि निर्माण गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ।
बायो ग्यास प्लान्टबाट दैनिक ३० टन फोहोर प्रशोधन गरी ग्यास तथा जैविक मलको उत्पादन शुरु भएको केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बताए।अधिकारीका अनुसार बायोग्यास प्लानटबाट ग्याससँगै दैनिक साढे ६ किलो जैविक मल पनि उत्पादन भइरहेको छ। बायोग्यास प्लान्टको काम २०७८ साउनमा नै सम्पन्न भएकोमा मंगलबारबाट औपचारिकरूपमा सञ्चालनमा ल्याएको पनि उनले जानकारी दिए।
उप–महानगरभित्र उत्पादन हुने जैविक फोहर २० वर्षसम्म उपलब्ध गराउने धरान नगरप्रमुख तिलक राइले बताए।