काठमाडौं। जुम्लाका आठ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन्। यहाँको हिमा गाउँपालिकाले बिगत साढे चार वर्षमा लगभग ६५ किलोमिटर सडक निर्माण गरेको छ।
भौगोलिक रुपमा विकट हिमा गाउँपालिकाका ७ वटै वडाका साढे तीन दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले अहिलेसम्म ५७ किलोमिटर सडक निर्माण गरेको जनाइएको छ।
चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि कतै आरसीसी भइरहेको छ। हिमा गाउँपालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुदै मोफ्लासम्म १५ किमि, पाथखोला हुँदै कालिकोट जोड्ने सडक पाँच किमि, भूगोलपाटादेखि बुअसम्म २ दशमलव ५ किमि, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किमि निर्माण भएको छ।
अहिले पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन्। केही गाउँमा गाडी पुग्न बाँकी छ। सडक स्तरवृद्धि गरेर आफ्नो कार्यकालभर गाउँमा गाडी पुर्याउने लक्ष्य रहेको गाउँपालिकाकाले जनाएको छ।