काठमाडौं। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग बागलुङ–बेनी सडक दैनिक पौने ९ घण्टा बन्द हुने भएको छ। बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक विस्तार गर्नका लागि यही पुस २५ गतेदेखि माघ ९ गतेसम्म दैनिक पौने ९ घण्टा सवारी सञ्चालन बन्द गर्न लागिएको हो।
हाडेभिरको साँघुरो ठाउँमा एक्साभेटर प्रयोग गरेर पहाड फुटाउँदा सवारी साधन आवतजावत गर्दा दुर्घटनाको जोखिम र काम प्रभावित हुने भएकाले निर्माण व्यवसायीले समय तालिका बनाउन प्रस्ताव गरेका थिए। बेनी–पाखापानी सडकको अर्थुङ्गे–नेप्टेचौर खण्डमा पनि ढलानका लागि सवारी बन्द गर्नुपरेको हो।
हाडेभिरमा करिब २०० मिटर दूरीमा पहाड काटेर सडकलाई १० मिटर पराकिलो पार्न लागिएको हो।
एक किलोमिटर २०० मिटर सडक आठ मिटर चौडाइमा कालोपत्रे हुन लागेको हो। यसअघि ११ मिटर चौडाइ गराउने भनिएको सडक पहिराको जोखिमका कारण घटाइएको हो।
म्याग्दी र बागलुङ जिल्लालाई जोड्ने यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको वैकल्पिक मार्ग हो। मालढुङ्गा–बेनी सडक पनि स्तरोन्नतिका लागि पुस १५ गतेदेखि दैनिक ५ घण्टा बन्द गरिएको छ। विसं २०५२ मा बागलुङ–बेनी सडकको मार्ग खुलेको थियो। मार्ग खुलेको २५ वर्षपछि सडक स्तरोन्तीले पूर्णता पाउन लागेको छ।