मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत लेतेखोलामा पुल निर्माण गरिएको हो।
विसं २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो।
हालसम्म अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको लेतेखोलामा पक्की पुल निर्माण भएसँगै आवतजावत गर्न सहज भएको स्थानीयको भनाइ छ। पक्की पुल बनेपछि बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले जनाएको छ।