काठमाडौं। गोकर्णेश्वर नगरपालिका– ५ स्थित बागमती नदी किनारको जम्बोडाँडा क्षेत्रमा फोहोर फाल्नेलाई कारबाही गर्न तयारी थालिएको छ।
गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानको ४१९औँ हप्तामा त्यस क्षेत्रमा लुकिछिपि फालिएका फोहोर सफा गरिसकेपछि अब फेरि फोहोर फाल्नेलाई कारबाही गरिने भएको हो।
जम्बोडाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ। सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानुनी कारबाही गर्ने तयारी गरिएको पनि वडाले जनाएको छ।
सफाइका क्रममा नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको छ। बागमती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो। जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटक समेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको बताइएको छ।
सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो। पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ।