काठमाण्डौं। काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ। आउदो चैत महिनाभित्र ५५ हजार स्थानीयलाई पानीको सुविधा पुर्याइने भएको हो।
गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइएको भएता पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन सकिएको थिएन।
तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउदा करिब एक वर्ष पछि धकेलिएको हो। उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको मर्मतलयातका काम भइरहको जनाएको छ।
आयोजनाको ९८ प्रतिशत काम सकिएको बताइएको छ। १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ। उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ।
तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो। तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्।