काठमाडौं। हेटौंडा–धरान चतरा सडकखण्ड अन्तर्गत बागमती नदीमा पुल निर्माण कार्य सम्पन्न भएको छ। बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुल निर्माण कार्य पूरा भएको हो।
नवनिर्मित पुलबाट मंगलबारदेखि दुई तर्फी यातायात समेत गुड्न थालेको छ। २३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७ दबमलव ७० मिटर चौडाई रहेको छ।
बिगत १० वर्षमा पनि निर्माण सम्पन्त्र हुन नसकेको पुलका कारण मकवानपुर र सिन्धुलीका मात्र नभइ काभ्रे, रामेछापबासीले समेत दुख पाएको र दुई जिल्ला मात्र नभएर समग्र प्रदेशको मुकामसँगको सम्पर्कमा समेत असर परेकाले प्रदेश सरकारले चासो लिएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए।
२०६८ साल असार २९ गते ५ वर्षभित्र पुल निर्माण गर्नेगरी स्वच्छन्द निर्माण सेवा कम्पनीले सम्झौता गरेको थियो । उक्त अवधिमा पुल निर्माण हुन नसकेपछि २०७५ असोजसम्म म्याद थप गरिएको थियो । उक्त अवधिमा पनि काम नसकेपछि सडक विभागमा २०७७ असारसम्म आयोजनाको म्याद थपिएसँगै पुल निर्माणको काम सम्पन्न हुन नसकेपछि २०७८ चैत्र मशान्तसम्म म्याद थप भएको थियो।