खोटाङ। दिक्तेल बजारको सडक ढलानको काम अलपत्र पारेको भन्दै स्थानीयले निर्माण कम्पनीको विरोध गरेका छन्। मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडकको ढलान कार्य अलपत्र पारेकोमा स्थानीयले विरोध जनाएका हुन्।
उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन समेत गएका छन्।
सूर्य विकास जेभीले निर्माणको ठेक्का लिएर अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा समेत असर पुगेको स्थानीयको गुनासो छ।
ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको उनीहरुको भनाइ छ।
मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत असहज भएको भन्दै दबाबमूलक अभियान सञ्चालन गर्न उद्योग वाणिज्य संघलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो।