काठमाण्डौं। पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ। पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो।
एशियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा सडकको स्तरोन्नति हुनेभएको छ। पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाको कार्यालय स्थापना गरिएको छ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय हाल गुणादीमा रहेको छ। योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ।
यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ। राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ।
पश्चिम खण्डलाई सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ। योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए।