काठमाण्डौं। गत बर्खामा आएको गेग्रान सहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजना माथिको अन्योल कायमै छ। सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यका वासीका धारामा खसाल्ने बताए पनि पुरिएका संरचनाको पुनःनिर्माणमा भने सम्बन्धित निकायको चासो गएको छैन।
गत असार १ गतेको बाढीका कारण फेरि अनिश्चित बनेको मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारको ध्यान गएको पाइन्न। दैनिक १७ करोड लिटर पानी काठमाडौँ लैजाने गरी सुरु भएको काम पूर्णरूपमा सम्पन्न नहुँदै गेग्रानभित्र पुरिएको थियो।
आयोजनाको बाँधस्थलमा १५ मिटर अग्लो गेग्रान थुप्रिएको छ भने पानी नियन्त्रणका लागि बनाइएका संरचना बगरभित्र हराएका छन्। आयोजनाबाट प्रभावित स्थानीय तहसँग अहिलेसम्म समन्वय नभएको र आयोजनास्थलमा कुनै कामको सुरुआत नहुनुले पनि सरकारले तोकेको समयमै पानी काठमाडौँ जान्छ भन्ने विश्वास गर्न सकिने आधार नभएको मेलम्ची नगरपालिकाको भनाई छ।
असार १ गतेकै बाढीका कारण मेलम्ची आयोजनाको दोस्रो चरणको याङरी, लार्केको कामसमेत अलपत्र अवस्थामा छ। याङरी खोला थुनिएर आएको बाढीले निर्माणाधीन पक्की पुल, सडकलगायत आयोजनाको मुहानस्थलसम्मको पहुँचमार्ग बगाएको छ भने निर्माण सामग्री बेवारिसे अवस्थामा छन्।
३५ अर्बभन्दा बढी लगानीमा आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौँका धारामा झरे पनि बाढीले क्षति पुर्याएपछि आयोजनाको भविष्य अझै अन्योलमा छ। पाँच वर्षभित्र दोस्रो चरणको याङरी र लार्केखोलाको पानीसमेत सरकारले काठमाडौँ लैजाने बताए पनि कामको शैली हेर्दा विश्वास गर्ने आधार नरहेको बताइन्छ।