सुनसरी। इटहरी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नं १५ स्थित भोटिया खोलामा पुल निर्माण हुने भएको छ। चार करोड १६ लाख लागतमा इटहरी र इनरुवा जोड्ने पुल निर्माण हुन लागेको हो।
पुलको आज शिलान्यास गर्दै इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले नगरको स्रोतले भ्याएसम्म जनताको सेवामा समर्पित रहने बताए। उनले अहिलेसम्ममा सानाठूला गरी १९ वट पुल नगर क्षेत्रमा बनाइसकेको जानकारी दिँदै जनप्रतिनिधिको काम नै जनताको सेवा रहेको बताए।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य सुवेदीले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए। खेतीपाती गर्न र कृषिउपज बजारसम्म पुर्याउनका लागि स्थानीयवासीलाई पुल अति नै आवश्यक भएकाले उपमहानगरपालिकाले पुल निर्माण गर्न लागेको हो।