रसुवा। कालिका गाउँपालिका–२ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको छ। एक सय १७ मिटर लामो झोलुङ्गे पुलको एकातर्फ भागमा जिबजिबे सडकको डिल भासिएपछि पुल जोखिममा परेको हो।
दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले कालिका क्याम्पसका विद्यार्थी एवं जिबजिबे, ज्याङलाङ, सरसिउँ, घोर्मुलगायत गाउँका बासिन्दालाई आवतजावतमा कठिन पर्दै आएको छ ।
कुनामा लगाइएको यान्त्रिक टेवा पर्खालसमेत लडेका कारण ‘झोलुङ्गेपुल बचाऔँ अभियान’मा जुट्न उपभोक्तालगायत सम्बद्ध सबै पक्षसँंग आग्रह गरिएको बताइएको छ।
वर्षायाममा निरन्तर पहिरो गइरहनाले पार गर्न स्थानीय बासिन्दालाई प्रत्येक वर्ष तीन महिना सकस हुनाले दुई वर्ष अगाडि गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको थियो । लठ्ठा कसिएको स्थान दह्रो भए पनि माथिको पाखो बग्न थालेका कारण पुल पूर्ण जोखिमावस्थामा छ । वर्षायाममा जिबजिबेदेखि यार्सा गाउँ क्षेत्रका १० हजारभन्दा बढी बासिन्दाले सो पुलबाट आवतजावत गर्छन्।
पुल संरक्षणमा सहभागी भइदिन स्थानीय तह, सामाजिक सङ्घसंस्था एवं सरोकार निकाय समेतमा आग्रह गरिएको स्थानीयले बताए।
छिटो उपचार गराउनुपर्ने बिरामी वर्षायाममा काठमाडौँ लान समेत समस्या हुँदै आएको बताइएको छ । हिउँदमा मोटर गुड्ने र वर्षायाम सुरू हुनासाथ पैदलमार्गीसमेत हिँड्न नसक्ने अवस्थाले बढीमात्रामा जिबजिबेबासी ठूलो मर्कामा परिरहेको स्थानीयवासीले बताए।