जाजरकोट। उपल्लो डोल्पाको सडक निर्माणका लागि थप बजेट उपलब्ध गराइने भएको छ। भेरी करिडोरअन्तर्गत दुनै–मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप दुई अर्ब १५ करोड बजेट उपलब्ध गराउन सहमति जनाएको हो।
भेरी करिडोरका एक अर्ब २० करोड बजेट चौरजहारी सडक डिभिजन कार्यालयमा पहिल्यै आइपुगेको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमणमा जाँदा थप बजेट उपलब्ध गराउन माग भएकाले अर्थ मन्त्रालयले सहमति दिएको बताइएको छ।
भेरी करिडोरअन्तर्गतको यो सडक भारतको रुपैडिया–जमुना नाकाबाट डोल्पाको धो–मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्गका रूपमा रहेको छ ।
भेरी करिडोरअन्तर्गतको ट्रयाक खोल्न बाँकी रहेको दुनै–लासिक्याप–धो सडकखण्डको डिपिआरका लागि एक अर्ब २० करोडबाट काम भइरहेको र दुई अर्ब १५ करोड बजेट अर्थ मन्त्रालयले भौतिक पूर्वाधर मन्त्रालयलाई गत पुस महिनाको दोस्रो साता मन्त्रीस्तरीय निर्णयबाट सहमति भएको जनाइएको छ ।
बजेटको सुनिश्चितासँगै दुनै–लासिक्याप–धो सडकखण्ड बन्ने निश्चित भएकाले उपल्लो डोल्पाका बासिन्दा खुशी भएका छन् ।